
चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई १०३ रनले हराउँदै इन्डियन प्रिमियर लिगमा प्रभावशाली जित निकालेको छ। वाङ्खेडे स्टेडियममा भएको खेलमा २०८ रनको लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा १०४ रनमै समेटियो।

मुम्बईका लागि तिलक वर्माले ३७ र सूर्यकुमार यादवले ३६ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन्। चेन्नईका अकिल होसेनले ४ विकेट लिएर विपक्षीलाई धराशायी बनाए।

यसअघि सन्जु सामसनको अविजित १०१ रनको शतकीय इनिङ्सको मद्दतमा चेन्नईले २०७ रन बनाएको थियो। कप्तान रुतुराज गायक्वाडले २२ रन थपे। जितसँगै चेन्नई ७ खेलबाट ६ अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ।































