
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम सामान्यतया बदली रहनेछ भने केही प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा हावाहुरी, असिना तथा मध्यम वर्षा हुने सम्भावना छ।

रातिको समयमा पनि मौसम बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पुनः मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। अन्य प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिकको न्यूनचापीय क्षेत्र सक्रिय रहेको छ। साथै दक्षिणतर्फ फैलिएको न्यूनचापीय रेखाका कारण केही दिनयता देशभर मौसम बदली र वर्षा भइरहेको छ। नागरिकलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।































