
पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले प्रधानन्यायाधीश सिफारिस प्रक्रियाप्रति गम्भीर असहमति जनाएकी छन्। संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका डा. मनोज शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गर्नु विधि र परम्पराविपरीत भएको उनले बताइन्।

कार्कीले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल नै योग्य, सक्षम र अनुभवी रहेको उल्लेख गर्दै महिलालाई नेतृत्वबाट वञ्चित गरिएको टिप्पणी गरिन्। महिला अधिकार र कानुन निर्माणमा सपना प्रधान मल्लको योगदान उल्लेखनीय रहेको उनको भनाइ छ।

उनले न्यायिक नियुक्ति योग्यता, अनुभव र वरिष्ठताको आधारमा हुनुपर्ने बताउँदै सरकारको निर्णयले न्यायपालिकाको प्रतिष्ठामाथि प्रश्न उठाएको धारणा राखिन्। सक्षम महिलालाई रोक्ने निर्णयको परिणाम सरकारले भविष्यमा भोग्नुपर्ने चेतावनी समेत उनले दिइन्।
































