
यस वर्षको मनसुन नेपालका लागि निकै चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार देशभर करिब ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ नागरिक मनसुनजन्य विपद्बाट प्रभावित हुने अनुमान गरिएको छ ।

कार्ययोजनामा यसपटकको मनसुन सन् २०१४, २०१६ र २०२२ को जस्तै जोखिमपूर्ण अवस्थासँग मिल्दोजुल्दो हुने उल्लेख गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा खराब अवस्थाको परिदृश्यमा एक हजारदेखि चार हजार घरपरिवार प्रत्यक्ष रूपमा गम्भीर प्रभावित हुनसक्ने आँकलन गरिएको छ ।
विशेषगरी उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धि भएसँगै हिमताल विस्फोटको जोखिम बढ्ने चेतावनी दिइएको छ । त्यसबाट तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढी, पहिरो, डुबान, जमिन कटान र बस्ती विस्थापनको खतरा उच्च रहेको बताइएको छ । त्यस्तै तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावाको लहर ‘लु’ ले जनजीवन प्रभावित पार्ने सम्भावना समेत औँल्याइएको छ ।


जल तथा मौसम विज्ञान विभागले यस वर्ष देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरिसकेको छ । कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका अधिकांश क्षेत्र, मधेसका पूर्वी भूभाग र कोशीका दक्षिणी क्षेत्रमा ५५ देखि ६५ प्रतिशतसम्म कम वर्षा हुने सम्भावना रहेको छ । सुदूरपश्चिमका अधिकांश भूभागमा पनि कम वर्षाको जोखिम औँल्याइएको छ ।
सरकारले प्रदेश र स्थानीय तहलाई तयारी अवस्थामा रहन निर्देशन दिँदै उद्धार, राहत र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आग्रह गरेको छ । मनसुन सुरु हुनुअघि नै सतर्कता नअपनाए ठूलो जनधनको क्षति हुनसक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।































