
हाल नेपालमा पश्चिमी, स्थानीय वायु तथा पूर्वी न्यूनचापीय क्षेत्रको मिश्रित प्रभावका कारण मौसम अस्थिर बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा पनि बादल देखिएको छ।
मधेस र लुम्बिनीका पहाडी क्षेत्रमा आंशिक बदली छ भने तराईमा मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी र गण्डकीका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ भने बागमतीका एक–दुई स्थानमा हल्का वर्षा भएको छ।


सोमबार कोशी, बागमती र गण्डकीमा बदली रहने तथा अन्य प्रदेशका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ। केही स्थानमा मेघगर्जन चट्याङ र हिमपातसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
पश्चिमी तराई क्षेत्रमा भने गर्मी बढ्दै गएको छ। सुदूरपश्चिम र लुम्बिनीका तराईमा तातो लहर (लू) चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। किसान, विद्यार्थी तथा यात्रुहरूलाई मौसमको अपडेट हेरेर मात्र दैनिक गतिविधि सञ्चालन गर्न सुझाव दिइएको छ। स्थानीय प्रशासनले पनि सबैलाई उच्च सतर्क रहन अनुरोध गरेको छ।
































