
श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल माफी माग्नुपर्ने माग गरेको छ।

सांसद आरेन राईले सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै प्रधानमन्त्रीको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने भनाइ राष्ट्रहित विपरीत रहेको आरोप लगाए। उनले यस्तो अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गलत सन्देश जाने बताए।

राईले सीमा जस्तो संवेदनशील विषयमा जिम्मेवार र तथ्यपरक अभिव्यक्ति आवश्यक हुने उल्लेख गर्दै प्रधानमन्त्रीले रोस्टममै आएर आफ्नो भनाइ फिर्ता लिनुपर्ने माग गरे। साथै, उनले सो अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि कमजोर बनाउने जोखिम रहेको टिप्पणी गरे।

































