
नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १९० रुपैयाँले बढेको छ। बिहीबार ४ हजार ६५० रुपैयाँ रहेको चाँदी शुक्रबार ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेकाले सुनचाँदीको मूल्यमा वृद्धि भएको हो।

































