गाउँ–गाउँमा स्वास्थ्य सेवा विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाह

Image
Nisarga Hospital

कैलालीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन गाउँ–गाउँ र घर–घरमा स्वास्थ्य सेवा विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

CP Hospital Dhangadhi

शनिबार धनगढीमा आयोजित ‘द लास्ट माइल हेल्थ समिट–२०८३’ को उद्घाटन गर्दै उनले स्वास्थ्य नागरिकको आधारभूत अधिकार भएकाले प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार, जनशक्ति र प्रविधिमार्फत सेवा विस्तारलाई प्राथमिकतामा राखेको बताए।

मुख्यमन्त्री शाहले आफ्नो कार्यकालमा पाँच आधारभूत अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको उल्लेख गर्दै दुई अस्पतालले मापदण्ड पूरा गरी स्तरोन्नति भइसकेको र बाँकी तीनलाई पनि विशेषज्ञ सेवा सञ्चालन गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए। उनले आगामी आर्थिक वर्ष २०८३/८४ मा टिकापुर, सेती र महाकाली प्रादेशिक अस्पताललाई १०० शैयामा तथा जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शैयासम्म स्तरोन्नति गर्ने योजना रहेको बताए। साथै प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तारको प्रक्रिया पनि अघि बढाइएको उनले जानकारी दिए।

nawajiwan
Attariya Hospital

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक रमेश मलासीले प्रदेशमा डिजिटल स्वास्थ्य प्रणाली विस्तार भइरहेको जानकारी दिँदै स्मार्ट हेल्थ किट, इलेक्ट्रोनिक हेल्थ रेकर्ड, हेल्थ ड्यासबोर्ड, टेलिमेडिसिन तथा एकीकृत डिजिटल स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन बजेट व्यवस्था गरिएको बताए। “स्वास्थ्यमा प्रविधि, समृद्धिमा गति” नारासहित विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच ग्रामीण क्षेत्रमा विस्तार गरिने उनले उल्लेख गरे।

बाजुराका बुढीनन्दा, बडिमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिका तथा स्मार्ट हेल्थ ग्लोबलको संयुक्त आयोजनामा भएको समिटमा डिजिटल स्वास्थ्य सेवामार्फत दुर्गम बस्तीका नागरिकसम्म विशेषज्ञ सेवा पुर्‍याउने उपायबारे छलफल गरिएको थियो। कार्यक्रममा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामी, विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।