
कैलालीको गोदावरी नगरपालिका–२ तेघरीस्थित सैनिक आवासीय महाविद्यालयले विद्यार्थीमा विपद् प्रतिकार्य क्षमता विकास गर्ने उद्देश्यले विद्यालय विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न गरेको छ। शुक्रबार सुदूरपश्चिम पृतना हेडक्वाटर, देवीदल गण र गुरुबक्स गुल्मको सहयोगमा आयोजित अभ्यासमा भूकम्प, आगलागीलगायत सम्भावित विपद्को कृत्रिम अवस्था सिर्जना गरी उद्धार तथा आपत्कालीन व्यवस्थापनका गतिविधि सञ्चालन गरिएको थियो।

विद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिलबहादुर रानाले विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप पनि उत्तिकै आवश्यक भएकाले यस्तो अभ्यास गरिएको बताए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा सही निर्णय गर्ने क्षमता, आत्मविश्वास र जोखिम न्यूनीकरणसम्बन्धी व्यवहारिक दक्षता विकास गर्न सहयोग पुर्याउँछ।

विद्यालयका प्रिन्सिपल सिद्धदेश्वर पन्त (प्रकाश)ले भूकम्प, आगलागी, दुर्घटना तथा अन्य विपद्का बेला सुरक्षित रहने उपाय, उद्धारमा सहभागिता र आवश्यक समन्वयबारे व्यवहारिक जानकारी दिन अभ्यास आयोजना गरिएको बताए।

कार्यक्रममा वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन विज्ञ लोकेन्द्र भट्ट, सुदूरपश्चिम पृतना हेडक्वाटर, देवीदल गण, गुरुबक्स गुल्म, नेपाल रेडक्रस सोसाइटी कैलाली, विपद्सम्बन्धी विभिन्न निकायका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अभ्यासका क्रममा प्राथमिक उपचार, घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आपत्कालीन व्यवस्थापनका विविध प्रक्रियाको प्रदर्शन गरिएको थियो।
































