
चीनको माथिल्लो क्षेत्रमा रहेको हिमतालको जलस्तर तीव्र रूपमा बढ्दै गएपछि नेपालतर्फ बग्ने भोटेकोशी नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनियाँ प्रशासनले आग्रह गरेको छ। निरन्तर वर्षाका कारण चीनको बोकु हिमनदी तथा त्यससँग जोडिएका हिमतालहरूको जलस्तर बढेकाले नदीमा आकस्मिक बहाव वृद्धि भई बाढी आउन सक्ने जोखिम औँल्याइएको हो।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चिनियाँ पक्षले पठाएको सन्देश स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायलाई जानकारी गराइसकिएको छ। सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्र, नदी किनारका बासिन्दा र सुरक्षाकर्मीलाई आवश्यक सावधानी अपनाउन तथा सम्भावित जोखिमका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

चेतावनी प्राप्त भएपछि नेपाली प्रशासनले भोटेकोशी तटीय क्षेत्रको निगरानी बढाएको छ भने स्थानीयवासीलाई नदी किनारमा अनावश्यक आवतजावत नगर्न र सतर्क रहन अनुरोध गरेको छ। यसअघि पनि यस्ता प्राकृतिक जोखिमका बेला नेपाल–चीनबीच सूचना आदानप्रदान हुँदै आएको छ।

































