
काठमाडौंः आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्ने यो अद्भुत खगोलीय घटना उत्तरी रुसदेखि ग्रिनल्यान्ड, आइसल्यान्ड हुँदै स्पेन र पोर्चुगलको सानो भूभागसम्म प्रत्यक्ष देखिनेछ। नेपालसहित दक्षिण एसिया र एसियाका अधिकांश भूभागबाट भने यो ग्रहण देखिने छैन।

नासाका अनुसार पूर्ण सूर्यग्रहणको मुख्य मार्ग निकै साँघुरो हुनेछ। अधिकांश स्थानमा पूर्ण ग्रहण दुई मिनेटभन्दा कम समय रहनेछ। ग्रिनल्यान्ड, उत्तरी रुस वा उत्तर एटलान्टिकको केन्द्रनजिक भने पूर्णता दुई मिनेटभन्दा केही बढी टिक्नेछ।
स्पेनका लियोन, जारागोजा र भ्यालेन्सियालगायतका स्थानबाट पूर्ण ग्रहण देखिनेछ। लियोनमा स्थानीय समयअनुसार साँझ ८ः२८ बजे पूर्ण ग्रहण सुरु भएर करिब दुई मिनेट रहनेछ। आइसल्यान्डको राजधानी रेक्जाभिकमा साँझ ५ः४८ बजेदेखि पूर्ण ग्रहण देखिने नासाले जनाएको छ।

म्याड्रिड र बार्सिलोनाबाट पूर्ण ग्रहण नदेखिए पनि सूर्यको करिब ९९ प्रतिशत भाग चन्द्रमाले ढाक्नेछ। पेरिसमा ९२ प्रतिशत, लन्डनमा ९१ प्रतिशत र बर्लिनमा ८५ प्रतिशतसम्म सूर्य ढाकिनेछ। उत्तर अमेरिका र अफ्रिकाका विभिन्न क्षेत्रमा पनि आंशिक ग्रहण देखिनेछ।
नेपालबाट किन देखिँदैन?
सूर्यग्रहण पृथ्वीको सबै स्थानबाट देखिँदैन। सूर्य, चन्द्रमा र पृथ्वी एक विशेष अवस्थामा आउँदा चन्द्रमाको छाया पृथ्वीको सीमित भूभागमा मात्र पर्छ। आजको ग्रहणको पूर्ण छाया नेपालसम्म नआउने भएकाले नेपाली आकाशबाट यो खग्रास सूर्यग्रहण प्रत्यक्ष देखिने छैन।

सूर्यग्रहणका मुख्य प्रकार आंशिक, खग्रास, वलयाकार र हाइब्रिड हुन्। खग्रास ग्रहणमा चन्द्रमाले सूर्यको उज्यालो भाग पूर्ण रूपमा ढाक्दा केही क्षण दिनको समयमा अँध्यारोजस्तो देखिन्छ र सूर्यको बाहिरी वायुमण्डल ‘कोरोना’ समेत देख्न सकिन्छ।
आँखाको सुरक्षामा सावधानी
आंशिक ग्रहणका बेला नाङ्गो आँखाले सूर्य हेर्नु जोखिमपूर्ण हुन्छ। प्रमाणित सौर्य अवलोकन चस्मा वा सुरक्षित सौर्य फिल्टर प्रयोग गर्नुपर्छ। साधारण सनग्लासले आँखालाई सुरक्षित राख्दैन। पूर्ण ग्रहणको अत्यन्त छोटो ‘पूर्णता’ चरणमा मात्र सूर्यको उज्यालो सतह पूर्ण रूपमा ढाकिएको अवस्थामा प्रत्यक्ष हेर्न सकिन्छ; त्यसअघि र पछि फेरि सुरक्षित फिल्टर अनिवार्य हुन्छ।
नेपालबाट ग्रहण प्रत्यक्ष नदेखिए पनि खगोलीय संस्थाका अनलाइन प्रत्यक्ष प्रसारणमार्फत यसको दृश्य अवलोकन गर्न सकिनेछ।
आजको ग्रहणपछि अर्को पूर्ण सूर्यग्रहण २ अगस्ट २०२७ मा हुनेछ। उक्त ग्रहण दक्षिणी स्पेन, उत्तर अफ्रिका, साउदी अरब र यमनलगायत क्षेत्रमा देखिनेछ।






























