सुदूरपश्चिमको मौलिक पर्व गौरा सुरु, आज बिरुडा पञ्चमी मनाइँदै

Image
Nisarga Hospital

सुदूरपश्चिमको मौलिक तथा सांस्कृतिक पहिचान बोकेको गौरा पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भाद्र शुक्लपक्ष पञ्चमीका दिन मनाइने बिरुडा पञ्चमीसँगै पर्वको सुरुआत भएको हो। यस दिन व्रतालु महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस गरी पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर बिरुडा तयार गर्ने परम्परा छ।

CP Hospital Dhangadhi

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सजाई त्यसमा पञ्च अन्न भिजाउने गरिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ भने गौरादेवीको पूजामा समेत यसको प्रयोग हुन्छ। बिरुडा भिजाउँदा महिलाले डोटेली भाषामा सगुन तथा फाग गाउने चलन रहेको संस्कृतिका जानकारहरू बताउँछन्।

गौरा पर्वअन्तर्गत षष्ठीका दिन बिरुडा पखाल्ने, सप्तमीमा साउँको प्रतिमा बनाई गौराघरमा भित्र्याउने र अष्टमीका दिन विशेष पूजाआजा गर्ने परम्परा छ। गौराष्टमीमा मङ्गलगानसहित गौरा नचाइन्छ भने अठवाली, चैत, धमारी र वीरगाथाका गीत प्रस्तुत गरिन्छन्। यही अवसरमा विभिन्न स्थानमा देउडा खेलसमेत सुरु हुन्छ।

nawajiwan
Attariya Hospital

धार्मिक मान्यताअनुसार गौरा पर्वमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वती अर्थात् गौरीको पूजा गरिन्छ। व्रत तथा पूजाआजा गर्दा श्रीमान् तथा परिवारका सदस्यको दीर्घायु, स्वास्थ्य र घरमा सुख–समृद्धि कायम हुने विश्वास छ।

अगस्ति ताराको उदयका आधारमा शुक्ल पक्षमा पर्ने गौरालाई ‘उज्याली गौरा’ र कृष्ण पक्षमा पर्ने गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ। दुवैलाई पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्व दिइन्छ। पर्वका अवसरमा सुदूरपश्चिमभर देउडा, डुस्को, धमारीलगायत विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैछन्।