
रमेश बहादुर सिंह /बझाङ: ६२औँ राष्ट्रिय बालदिवसको अवसरमा जयपृथ्वी नगरपालिकामा नगरस्तरीय अन्तरविद्यालय शैक्षिक प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ।
जयपृथ्वी नगरपालिका नगरस्तरीय बालसञ्जालको आयोजनामा तथा प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा विभिन्न विधामा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत आधारभूत तह कक्षा १ देखि ५ सम्मको हिज्जे प्रतियोगितामा सुदूरपश्चिम विद्या सदन प्रथम, सेतीसाइपाल बोर्डिङ स्कुल द्वितीय र जालपा माध्यमिक विद्यालय तृतीय भएका छन्।
त्यस्तै, आधारभूत तह कक्षा ६ देखि ८ सम्मको हाजिरीजवाफ प्रतियोगितामा सुनिपिपलचौर माध्यमिक विद्यालय प्रथम, सुदूरपश्चिम विद्या सदन द्वितीय तथा सत्यवादी माध्यमिक विद्यालय र बझाङ मेरीगोल्ड बोर्डिङ स्कुल तृतीय भएका छन्।
यसैगरी वक्तृत्वकला प्रतियोगितामा सुदूरपश्चिम विद्या सदनका प्रवेश जाग्री प्रथम, जालपा माध्यमिक विद्यालयकी एलिसा कोइराला द्वितीय र सुनिपिपलचौर माध्यमिक विद्यालयकी कुसुम सिंह तृतीय भएका छन्।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी तथा विद्यालयलाई पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको छ। पुरस्कार तथा सम्मानले विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्नुका साथै उनीहरूको प्रतिभा र सिर्जनात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुग्ने आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, जयपृथ्वी नगरपालिकाका कर्मचारी, प्रगतिशील युवा समाज, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाप्रति आयोजकले आभार व्यक्त गरेको छ।
६२औँ राष्ट्रिय बालदिवसको अवसरमा आयोजित प्रतियोगिताले बालबालिकाको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि, सिर्जनात्मक क्षमता विकास तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।
प्रतियोगितामा सहभागी तथा उत्कृष्ट स्थान हासिल गर्ने सम्पूर्ण बालबालिका र विद्यालयलाई बधाई दिँदै आयोजकले उनीहरूको उत्तरोत्तर प्रगति तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

































