
बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड, मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो।

नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो। ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। एक समय १२ ओभरमा ४१ रन बनाउँदा ६ विकेट गुमाइसकेको ओमानका लागि विनायकले जय ओडेरासँग ८३ रनको साझेदारी गरेका थिए। ओडेराले २५ रन बनाए।
नेपालका नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान ३ विकेट लिए। नन्दनले ६ ओभरमा १२ रन खर्चिए भने सन्दीपले ९ ओभरमा २८ रन दिए। दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन जोडे।
करण केसीले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन बनाए। उनले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गर्नुका साथै अन्तिम ओभरमा पनि छक्का प्रहार गरेका थिए।
यो जितसँगै ३४ खेलबाट २८ अंक जोडेको नेपाल लिग–२ अंकतालिकाको छैटौँ स्थानमा छ। ३० खेलबाट ३३ अंक रहेको ओमान चौथो स्थानमा छ। नेपालले अब आगामी शनिबार क्यानडासँग खेल्नेछ।

































