संवैधानिक मर्यादामा रहन सरकारलाई कांग्रेसको आग्रह, अध्यादेश फिर्ता लिन र संसद् बोलाउन माग

Image
Nisarga Hospital

नेपाली कांग्रेसले सरकारलाई आफ्ना निर्णय र कार्यशैली सच्याउँदै संवैधानिक मर्यादाभित्र रहेर विधिको शासन सुनिश्चित गर्न माग गरेको छ। केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

महामन्त्री प्रदीप पौडेलका अनुसार कांग्रेसको संयमलाई कमजोरी र रचनात्मक व्यवहारलाई सरकारका गलत कार्यप्रति सहमति नठान्नसमेत सचेत गराइएको छ। बैठकले संसद्, राष्ट्रपति, संवैधानिक निकाय तथा राज्यका अङ्गहरूको अवमूल्यन गर्ने सरकारी प्रवृत्तिप्रति आपत्ति जनाएको छ।

त्यस्तै, प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित संवेदनशील विषयमा पर्याप्त छलफल नगरी ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन र संसद् अधिवेशन आह्वान गर्न माग गरेको छ।

कांग्रेसले सीमा विवादलाई द्विपक्षीय संवादको प्राथमिकतामा राख्दै विद्यमान संयन्त्र सक्रिय बनाउन र उच्चस्तरीय कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।

यसैगरी, पार्टीको नाम, झन्डा, चुनाव चिह्न र अन्य आधिकारिक सामग्री अनधिकृत रूपमा प्रयोग गरी भेला तथा महाधिवेशनका गतिविधि सञ्चालन गर्नेमाथि कानुनी कारबाही अघि बढाउने निर्णय गरेको छ। भ्रमपूर्ण गतिविधिमा सहभागी नहुन पार्टीका सदस्य तथा शुभेच्छुकलाई अपिल गर्दै बैठकले ‘कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ परिमार्जनसहित पारित गरी कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ।