
धनगढी:दुर्गालक्ष्मी नमूना मावि अत्तरियाका प्राचार्य तथा वरिष्ठ शिक्षासेवी शिवराज जोशीलाई शिक्षा सेवा सम्मान प्रदान गरिएको छ।
खप्तड विद्या निकेतन मावि मालाखेतीले आफ्नो २० औं वार्षिकोत्सवमा सनिबार जोशीलाई सो सम्मान प्रदान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रज्ञा -प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशी र विद्यालयका प्रधानाध्यापक श्यामबहादुर खत्रीले प्राचार्य जोशीलाई दोसल्ला र अभिननन्दनपत्रबाट सम्मानित गरेका हुन्।
झण्डै चालिस वर्ष शिक्षा क्षेत्रमा बिताएका प्राचार्य जोशीले पछिल्लो समय अत्तरियामा रहेको दुर्गालक्ष्मी माविलाई देशकै नमूना विद्यालय बनाउन सफल भएका छन्। यस अघि ग्वासी मावि मालाखेतीको प्राचार्य रहेका जोशीले उक्त विद्यालयको पनि शैक्षिक र भौतिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कुरा भन्दा काम गर्न बढी रूचाउने प्राचार्य जोशीको कुशल प्रशाशनिक क्षमताको अहिले सबैले प्रशंसा गरेका छन्।




उनले ओरालो लागेको दुर्गालक्ष्मीलाई विद्यार्थी संख्या, शैक्षिक गुणस्तर, आर्थिक व्यबस्थापन तथा प्रशासनिक चुस्ततामा राख्न सफल भएका छन्। प्राचार्य जोशीले सामाजिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानस्वरूप उहाँलाई सम्मान गरिएको खप्तड विद्या निकेतनका प्राचार्य श्याम खत्रीले बताए।


































