
डोटी:डोटीको दिपायलबाट राजधानी खोसिएको विषयमा आधारित गायक शेर साउँदको डेउडा गीत ‘गौणा लैग्यो, अड्डा लैग्यो’ शुक्रबार सार्वजनिक भएको छ ।

गायक शेर साउँद र कृष्णा बजगाईंको स्वरमा सजिएको गीत बसिबियाँलो म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको हो ।
पत्रकार पवन महराको शब्द सिर्जना तथा गायक शेर साउँदकै सँगीत रहेको गीतमा भनिएको छ–‘हंस गैग्यो परान गैग्यो, गैग्यो माल गैग्यो ः ढुङ्गामुडा पहाडै र्या, उपद्दरै भैग्यो ।’ त्यसै थप भनिएको छ–‘गौणा लैग्यो, अड्डा लैग्यो, गणतन्त्र लैग्यो ः बासमती उब्जन्या जिउलो, बाँजो रन्या भैग्यो ।’
कृष्ण बाजुरालीले एरेन्ज, रेकर्ड तथा मिक्सिङ्ग गरेको उक्त गीत द एरा रेकर्डिङ्ग स्टुडियो र कुसुम डिजिटल रेकर्डिङ्ग स्टुडियोबाट अडियो तयार भएको हो ।

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ मा सात वटै प्रदेशको अस्थायी राजधानी तोक्ने क्रममा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी तोकेको थियो ।
त्यस लगत्तै दिपायलमै राजधानी कायम राख्न माग सहित डोटीमा करिब दुइ महिना आन्दोलन चलेको थियो । सोहि आन्दोलका दृश्य लगाएतका विषयवस्तु समेटी गीतको भिडियो तयार गरिएको छ ।

गीतका सर्जक पवन महराले आन्दोलनका क्रममा छायांकन गरेका र ड्रोनमार्फत हेमन्त राइले कैद गरेका दृश्यहरु समेटी दिपायलको बाबा स्टुडियोले भिडियो तयार पारेको हो । भिडियो सम्पादन फिल बाबा र अमित नेपालीले गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशका तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारका पालामा प्रदेश सभाको ४६ औं बैठकबाट स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको वडा नं. २ र ४ मा पर्ने गरी तेघरीलाई तोकेको थियो । हालसम्म त्यहाँ कुनै संरचना निर्माणका काम हुन सकेको छैन ।
ऐतिहासिक डोटी गौणाको मुकाम रहेको, साविकको संरचनामा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको डोटी, दिपायलबाट संघीय संरचनामा राजधानी कैलाली तोकेपछि डोटीले अधिकार गुमाएको महशुस गरेको छ ।
सामरिक दृष्टिकोण, भौगोलिक समदुरी, पर्याप्त सरकारी भौतिक संरचना लगाएतका आधारमा पनि डोटी प्रदेश राजधानीका लागि उपयुक्त स्थान रहेको छ ।
हेर्नुहोस् गीतको भिडियो –






























