
भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपको दोस्रो खेलमा बरोडालाई २७ रन हराएको छ। मंगलबार भारतको वापीमा सम्पन्न खेलमा जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाएर १२९ रन बनायो। शृंखलामा यो नेपालको लगातार दोस्रो जित हो।

बरोडाका भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए । कप्तान विष्णु सोलांकीले ३२ बलमा २ चौकासहित २५ रन बनाए । बाबा खानले १८ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए ।
नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै किन्ती पटेल र शस्वात रावतलाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सोमपाल कामीले मोहित मोंगियालाई ३ रनमा बोल्ड गर्दा ३.४ ओभरमा २१–३ को अवस्थामा पुगेको थियो । त्यसपछि अमित पासी १४ रनमा रन आउट भए । दीपेन्द्रले उत्कृष्ट रन आउट गरेका थिए ।
कप्तान रोहित पौडेलले पनि १३ बलमा १८ रन बटुले । नेपालका लागि गुलसन झाले १४ बलमा १३ रन बनाए । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ११ बलमा नौ रन बटुलेका थिए । अर्का ओपनर आसिफ शेख पनि १२ बलमा नौ रन बनाउँदै पेभेलियन फर्किए ।
यसैगरी दीपेन्द्रसिंह ऐरी पाँच बलमा पाँच रन बनाउँदै अविजित रहे । बरोडाका बलर बाबा खानले दुई तथा मोहित मोंगिया र परिक्षीत पाटिदरले एक-एक विकेट लिए । नेपालका दुई ब्याट्सम्यान रोहित पौडेल र सन्दीप जोरा रन आउट भएका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको बरोडालाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिए । सोमपाल कामी र अविनाष बोहराले पनि दुई-दुई विकेट हात पारे । गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए
नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ। ।


























