
नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीको ह्याट्रिकसँगै आयरल्यान्ड ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ए लाई १५८ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अल आउट भयो ।

आयरल्यान्डलाई सस्तोमा समेट्न नेपाली टोलीका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । कमलसिंह ऐरी ह्याट्रिकसहित चार विकेट लिए । उनले ६.३ ओभरमा एक मेडन राख्दै २१ रन खर्चिए । साहब आलम र मौसम ढकाल पनि दुई(दुई विकेट हात पारेका थिए । रिजन ढकालले पनि आयरल्यान्डका एक ब्याट्सम्यानलाई पेभेलियन फर्काए ।
आयरल्यान्डका लागि केड कार्मिचलले अर्धशतकीय पाली खेले । चौथो नम्बरका ब्याट्सम्यान केडले टोलीको खातामा ५१ रन थपे । यस क्रममा उनले ७७ बलको सामना गरी चार चौका पनि हिर्काए । कप्तान निल रकले पनि टोलीको खातामा ३९ रन थपे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान निलले ३२ बलमा तीन छक्का र दुई चौका हिर्काए ।
नेपालको बलिङसामु आयरल्यान्ड ए का कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । नेपालका कमलसिंह ऐरीले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए ।
कमलले ३९ औं ओभरको पहिलो बलमा लियाम म्याकार्थीलाई डीप मिडविकेटमा साहबबाट २ रनमा क्याच, दोस्रो बलमा म्याथ्यु हम्फ्रेज र तेस्रो बलमा बेन ह्वाइटलाई बोल्ड गर्दै ह्याट्रिक लिए ।
२०२२ मा चोटपछि टोलीमा फर्किएका कमलले टी-२० पछि एकदिवसीयमा पनि उच्च प्रदर्शन गरेका हुन् । मौसम ढकाल र साहब आलमले दुई/दुई तथा रिजन ढकालले एक विकेट लिए ।




























