
बैतडी: श्रीमतीको हत्या आराेपमा पक्राउ परेका बैतडीको डिलाशैनी गाउँपालिका– ७ धामीगाउँका ६३ बर्षीय कृष्णसिंह धामी कारागार चलान भएका छन् ।

धामीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।
कोदालोले प्रहार गरि श्रीमतीको हत्या गरेका धामीलाई पुर्पक्षका कारागार चलान गरिएको हाे।
गएको चैत ८ गते बिहान कोदालोले हिर्काएर धामीले आफ्नै श्रीमती ५६ बर्षीया पार्वती धामीको हत्या गरेका थिए । कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान सकाएर धामीलाई सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरेको थियो । जिल्ला अदालतले उनलाई आज पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।




श्रीमतीको हत्या गरेका धामीले उनकै घरमा डेरा गरेर बसेका डिलाशैनी गाउँपालिकाका कर्मचारी सुबास कलौनी र देवराज भट्टमाथि पनि आक्रमण गरेका थिए ।
धामीको काेदालाे प्रहारबाट घाइते भएका कलौनी कोहलपुर मेडिकल कलेजमा उपचारपछि डिस्चार्ज भइसकेका छन् भने भट्टको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ ।


































