
दार्चुलाको मालिकार्जुन गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरिएको छ ।
मालिकार्जुन गाउँपालिका गाउँ सभाको गत बर्षको पौषमा भएको निर्णय अनुसार गाउँपालिका क्षेत्र भित्र मदिरा बिक्रि वितरण तथा प्रयोगमा निषेध गरिएको हो ।

मालिकार्जुन गाउँपालिकाले सूचना जारी गर्दै आफ्नो पालिका क्षेत्र भित्र यहि साउन १गते देखि मदिरा बेचबिखन तथा प्रयोग लाई निषेधित गरिएको र सूचनाको उल्लंघन गरिएको पाईए कानून बमोजिम कारबाही गरिनेछ भनि सूचनामा उल्लेख गरिएको छ ।
मालिकार्जुन गाउँपालिका राष्ट्रको सातौ धाम शैल्य मालिकार्जुन धामको लागि प्रख्यात भए पनि मन्दिर नजिकैको क्षेत्रमा समेत मदिरा बिक्रि वितरण भईरहेको र त्यसका लागि पालिकाले नै लाईसेन्स दिएर प्रोत्साहन गरेको भनि व्यापक आलोचना हुँदै आएको थियो ।




गाउँपालिका क्षेत्र भित्र मदिराका कारण विभिन्न अपराधिक क्रियाकलापहरू बढेको ,महिला तथा बालबालिकाहरू हिंसाको सिकार हुनु परेको र विभिन्न सामाजिक अवरोधहरू सिर्जना हुनुका साथै स्कुले बालबालिका समेत कुलतमा फस्ने उच्च जोखिम रहेकोले आफ्नो पालिकाले मदिरा निषेधित गर्ने गरी निर्णय गरिएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताउनु भयो ।
गाउँपालिकाले आफ्नो निर्णयलाई कार्यान्वयनमा सहयोग गर्न छिमेकी पालिकाहरू शैल्यशिखर नगरपालिका र महाकाली नगरपालिका ,स्थानीय प्रहरी प्रशासन, राजनैतिक दल,स्थानीय बुद्धिजिवी र नागरिक समाजका अगुवाहरूलाई समेत सूचना मार्फत अपिल गरेको छ ।
मालिकार्जुन गाउँपालिका दार्चुला जिल्लामा मदिरा निषेधित गर्ने पहिलो स्थानीय तह भएको छ । आफ्नो पालिका भित्र मात्रै नभई समग्र जिल्लाभरीकै अन्य स्थानीय सरकारहरूले समेत मदिरा बिक्रि वितरणको विषयलाई गभ्मिरता पुर्वक लिई निषेधित गर्ने तर्फ लाग्नुपर्ने अध्यक्ष धामीले बताउनु भएको छ ।



































