दुई हिमताल विस्फोट हुँदा भीषण बाढी आएको निष्कर्ष

Image
Nisarga Hospital

दुई हिमताल विस्फोट हुँदा शुक्रबार सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा गेग्य्रान र ठूला ढुंगासहितको भीषण बाढी आएको निष्कर्ष निकालिएको छ । थामेबजारबाट करिब नौ किलोमिटरमाथि रहेका दुई हिमताल विस्फोटका कारण उक्त घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी गराएको छ ।

CP Hospital Dhangadhi

रक्षामन्त्री मानवीर राईसहितको एक सरकारी टोलीले शनिबार बिहान थामेबजार क्षेत्रको स्थलगत अवलोकन र स्थानीयसँग अन्तरक्रिया गरेको थियो । टोलीले दुई हिमताल फुटेर बाढी आएको निष्कर्ष निकालेको हो ।

“उक्त क्षेत्रको अवलोकन, स्थानीयसँग गरिएको अन्तरक्रिया तथा अन्य विभिन्न निकायको प्रारम्भिक जानकारीबाट थामेखोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा रहेका पाँचवटा हिमतालमध्ये सबैभन्दा माथि रहेको ताल फुटेर पानी तल रहेको अर्को तालमा खसेको र उक्त ताल पनि फुट्दा शृंखलाबद्ध प्रभाव परेको देखिन्छ,” प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

nawajiwan

प्राधिकरणका अनुसार, पाँचमध्ये तीन ताल यथावत् छन् । तर, ती तालको जोखिमको अवस्थाबारे अध्ययन गर्नुपर्ने टोलीले औँल्याएको छ ।

जल तथा मौमस विज्ञान विभागका अनुसार, उक्त क्षेत्रनजिकको फोर्से केन्द्रमा विगत सात दिनमा कुल ६५ मिलिमिटर वर्षा मापन गरिएको छ । गएको साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमशः वृद्धि भई ९.७ बाट ११.० डिग्री सेल्सियस पुगेको थियो । साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस थियो ।

“अतः जलवायु परिवर्तनको प्रभाव समेत जोडिई भएको तापक्रम वृद्धि, बढ्दो वर्षा, पर्माफ्रोस्ट र ग्लेसियर पग्लँदा थामेखोलाको जलाधारमा हिमताल विष्फोट भएको देखिन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

Attariya Hospital

खोटाङको रखुवाबजारस्थित दूधकोसी नदीको बाढी मापन केन्द्रमा शुक्रबार साँझ ५ः१० बजे ४.२९ मिटर रहेको जलसतह बढेर त्यसको ३० मिनेटमा अर्थात् ५ः४० बजे ५.५३ मिटर पुगेको थियो ।

“थामेबजारमाथिका दुईवटा हिमताल विस्फोट भई बाढीका कारण भएको ठूलो भौतिक क्षति, पर्यटकीय र रमणीय थामेबजार बगरमा परिणत हुने घटनाले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा संकट उत्पन्न भई क्षति तथा नोक्सानी बढिरहेको नै प्रमाणित हुन आउँछ,” विज्ञप्तिमा भनिएको छ ।

क्षति
एक्कासि आएको बाढीले १३ घरमा पूर्ण रूपमा क्षति पुगेको छ । १० घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ । एउटा विद्यालय भवन, एउटा स्वास्थ्य क्लिनिक र दुई होटेलमा पनि पूर्ण क्षति पुगेको छ । खुम्बु बिजुली कम्पनीको ड्याम क्षतिग्रस्त हुँदा विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।

सोलुखुम्बुकै सोताङ गाउँपालिका–१, दिप्लीघाटमा स्टोर गरी राखिएको पुरानो बेलीब्रिजको सामान बगाएको छ । माप्य दूधकोसी गाउँपालिका–१, अधेरीस्थित खुम्बु क्षेत्र जोड्ने दूधकोसी खोलाको स्टिल ट्रस पुलको एकतर्फी भाग भासिँदा आवागमन बन्द भएको छ । हाल पानीको बहाव घटेको छ । तर, तटीय क्षेत्रमा कटान भएकाले केही स्थानमा पहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

रक्षामन्त्री राईसँगै राष्ट्रियसभा सदस्य सोनाम गेल्जेन शेर्पा, प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललगायत अधिकारी सम्मिलित उक्त टोलीले थामेबजारमा प्रभावित परिवारलाई नगद तथा जिन्सी राहत वितरण समेत गरेको थियो ।