लेबनान- इजरायल तनाव, ८५० नेपाली सेना बंङ्करको आश्रयमा

Image
Nisarga Hospital

इजरायलले दक्षिणी लेबनानमा कारबाही तीव्र बनाएपछि राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ८५० नेपाली शान्ति सैनिक बंकरमा सरेका छन् ।

CP Hospital Dhangadhi

संयुक्त राष्ट्र संघले ‘सेक्युरिटी लेभल ३’ लागू गराएपछि यूएन प्रोटोकल अनुसार सोमबारदेखि नेपाली शान्ति सैनिक बंकरमा सरेको नेपाली सेना उच्च स्रोतले अनलाइनखबरलाई बतायो । यद्यपि, यो प्रोटोकल कति लामो समयसम्म रहन्छ भन्ने खुलाइएको छैन ।

जंगीअड्डाका अनुसार, लेबनानमा ८७७ नेपाली सैनिक रहेपनि २७ जना हेडक्वार्टरमा विभिन्न तहमा कार्यरत् छन् ।

nawajiwan

‘बाहिरको अवस्था अनुसार, यूएन हेडक्वार्टरले सुरक्षा प्रोटोकल १, २ र ३ मा छुट्याउँछ, त्यसमा के गर्न पाइने, नपाइने भन्ने मापदण्ड नै बनेका छन्’, एक सैन्य अधिकारीले भने, ‘त्यसअनुसार ३ नम्बरमा हुँदा फौजले बाहिर निस्किन पाउँदैन, २ मा हुँदा तोकिएअनुसार निश्चित अवधिका लागि बाहिर हिँड्न मात्र पाइन्छ ।’ दुवै अवस्थामा अपरेशनल गतिविधि भने ठप्प रहने छ ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानको इस्लामिक विद्रोही संगठन हिजबुल्लाहलाई समाप्त पार्न भन्दै १५ असोजबाट स्थल कारबाही समेत थालेको छ ।

Attariya Hospital

इजलायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आइतबार संयुक्त राष्ट्रसंघीय मिसनलाई दक्षिण लेबनानबाट हटाउन समेत चेतावनी दिए । तर राष्ट्रसंघले शान्ति स्थापनाका खटिएको सैनिक फिर्ता नहुने जवाफ दिएको छ ।

यसले तनाव बढेको छ । शुक्रबार हवाई आक्रमणका क्रममा श्रीलंकाका दुई जना शान्ति सैनिक घाइते भएका छन् । नेपाली सैनिक अधिकृतहरुले भने शान्ति सेनालाई लक्षित गरेर कारबाही नगरिएपनि आसपासमा फायरिङ हुँदा त्यसको केही प्रभाव शान्ति सैनिक खटिएको इलाकामा पनि परेको विश्लेषण गरेका छन् ।

‘स्थल कारबाही हुँदा युद्धरत् दुवै पक्षले शान्ति सैनिक रहेको वरिपरिको इलाका प्रयोग गर्न खोज्छन्, त्यस्तोमा दुई पक्षबीच तनाव हुँदा शान्ति सैनिकले प्रयोग गर्ने पोष्ट अथावा बाहिर बस्ने टोलीलाई प्रभाव पर्नसक्छ’, एक उच्च सैनिक अधिकारीले भने, ‘नियतवश शान्ति सैनिकलाई नै लक्षित गर्ने काम हुँदैन भन्ने बुझाइ हो ।’

अनलाईन खबर बाट