
पश्चिम नेपालमा आजदेखि हिउँदे वर्षा सुरु हुँदैछ। मौसम विभागका अनुसार आज राति पहाडी र हिमाली भेगमा वर्षा हुनेछ। काठमाडौं र पोखरामा छिटपुट वर्षाको सम्भावना रहेको छ।

शुक्रबारदेखि अर्को वर्षा प्रणाली पश्चिम नेपालमा सक्रिय हुने विभागले जनाएको छ। तराई र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरोले यातायातमा असर पर्नसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

कर्णाली र सुदूरपश्चिममा मंगलबार पनि वर्षा र हिमपातको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जाडो बढ्ने र जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
































