
गुरुङ समुदायले आज पुस १५ गते नयाँ वर्षको स्वागत गर्दै ‘तमु ल्होसार’ मनाउँदै छन्। ‘ल्हो’ भन्नाले वर्ष र ‘सार’ भन्नाले फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। यो पर्व गुरुङ समुदायका लागि नयाँ वर्षका रुपमा विशेष महत्वसहित भव्यरुपमा मनाइन्छ।

तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको मानिन्छ। गुरुङ समुदायको मुख्य बसोवास रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, र पर्वतलगायतका स्थानहरूमा सूर्यको ताप पहिले आउने भएकाले यो पर्व पुस १५ गते मनाइने किम्वदन्ती छ।
यसपछि क्रमशः तामाङ र शेर्पा समुदायको क्षेत्रमा सूर्यको ताप आउने भएकाले उनीहरूले माघ र फागुनमा यो पर्व मनाउने परम्परा रहेको विश्वास गरिन्छ।

पुस १५ को रातलाई वर्षकै सबैभन्दा लामो रात मानिन्छ। यो रातपछि क्रमशः दिन लामो र रात छोटो हुँदै जाने प्राकृतिक चक्रले पनि यस पर्वलाई विशेष महत्व दिएको छ।

तमु ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। यस पर्वको मुख्य कार्यक्रम काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको छ, जहाँ गुरुङ समुदायले सांस्कृतिक झाँकी, परम्परागत नृत्य, र विशेष कार्यक्रम प्रस्तुत गर्दै छन्।
तमु ल्होसारले समुदायभित्रको एकता र सांस्कृतिक पहिचानलाई झल्काउने मात्र होइन, नयाँ वर्षको आशा र उमंग पनि प्रकट गर्दछ।
यस पर्वले सबैलाई नयाँ ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित गुरुङ समुदायलाई ‘तमु ल्होसारको शुभकामना’।






























