
जिल्ला अस्पताल बझाङमा एमडिजीपि डाक्टर बाट सेवा सुरु गरिएको छ । पुष ११ गतेबाट जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन मा टिचिङ अस्पताल महाराजगन्ज बाट स्नातकोत्तर गर्नुभएका विशेषज्ञ डा जीवन न्यौपाने आए सँगै अस्पतालमा उक्त सेवा सुचारु भएको हो । अस्पतालमा पछिल्लो चरणमा विशेषज्ञ सेवा थप्ने क्रममा हाल एमडिजीपि डा को सेवा थपिएको छ ।

उहाँ नेपाल सरकारको छात्रवृत्तिमा पढेर हाल छात्रवृत्ति करार अन्तर्गत खटिएर जिल्ला अस्पताल बझाङमा आउनु भएको जिल्ला अस्पताल बझाङका मेसु डा नबराज जोशीले बताउनुभयो । यसअघि अस्पतालमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र स्त्री तथा प्रसूति रोग विशेषज्ञ बाट सेवा दिइदै आएको भएपनि हाल उक्त थप विशेषज्ञ सेवा सुरु भएको छ ।

यो सेवा सुरु भए सँगै अब जिल्ला अस्पताल बझाङमा नै विभिन्न खालका अपरेसन जस्तै हर्नियाँ हाइड्रोसिल, एपेन्डिसाइटिस लगायतका रोगको अपरेसन समेत हुने भएको छ । साथै विभिन्न रोगहरूको औषधि उपचार र इमर्जेन्सीमा आउने बिरामीको जाँच समेत विशेषज्ञ चिकित्सक बाट नै हुने जोशीले बताउनुभयो । बिकट जिल्ला बझाङको जिल्ला अस्पतालमा नै विभिन्न विशेषज्ञ सेवा सुरु भएकाले जनस्वास्थ्यमा सुधार हुँदै जाने विश्वास गरिएको छ ।

































