
सिगास: बैतडीको सिगास गाउँपालिकामा सञ्चालन भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि अर्जुन माध्यमिक विद्यालय गाँजरीले हात पारेको छ ।

यही पौष २५ गतेदेखि आजसम्म सिगास गाउँपालिका वडा नम्बर २ स्थित अर्जुन माविको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा १४ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापक विद्यालय अर्जुन माध्यमिक विद्यालय गाँजरी प्रथम भएको हो ।

यस्तै प्रतियोगितामा ५ स्वर्ण र १ कास्य पदक जितेर बालकृष्ण माध्यमिक विद्यालय न्वाघर दोश्रो भएको छ भने २ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेर शिवलिङ्ग माध्यमिक विद्यालय धौलाडी र भुवन भाष्कर मावि चमडेखर्क मावि तेश्रो भएको छ ।
आइतबार आज सम्पन्न भएको प्रतियोगितामा पालिकाभरीका १५ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।


प्रतियोगिता समापन समारोहमा विजेताहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । सिगास गाउँपालिका वडा नं. १ का अध्यक्ष रामचन्द्र ऐरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सिगास गाउँपालिकाका शिक्षा अधिकृत रमेश प्रसाद भट्ट, बिभिन्न विषयगत शाखामा कार्यरत कर्मचारीहरु, १५ ओटै माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, खेलकुद शिक्षकहरु, १५ ओटै माध्यमिक विद्यालयका खेलाडी विद्यार्थीहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, बुद्दिजिबी, समाजसेवी, शिक्षक, अभिभावक र विद्यार्थी लागायत शुरक्षाकर्मी, सञ्चारकर्मी लगायत आम दर्शकको बाक्लो उपस्थिती रहेको थियो ।






























