
केदारस्यु गाउँपालिकामा ४५ दिने एडभान्स सिलाइ कटाइ सम्बन्धी सीप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ। यो तालिम गरिबी निवारणका लागि लघु उद्योग विकास कार्यक्रम (मेडपा) अन्तर्गत २०८१/०८२ को वार्षिक कार्यक्रमअन्तर्गत गाउँपालिका वडा नं. ५ मा सञ्चालन गरिएको हो।

मंसिर १६ गतेदेखि पुस २८ गतेसम्म सञ्चालन भएको यस तालिममा गरिब, महिला, दलित र आर्थिक रूपमा कमजोर १० जना महिलाहरूको सहभागिता रहेको थियो। समापन कार्यक्रममा महिलाहरूलाई प्रमाणपत्रसहित सिलाइ कटाइ मेसिन पनि प्रदान गरिएको छ।

समापन कार्यक्रममा केदारस्यु गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मोहन ठगुन्नाले महिलाहरूलाई सिप र क्षमता विकासको महत्व बताउँदै यस प्रकारको तालिमले उनीहरूको जीवनयापन सहज बनाउन र पारिवारिक अवस्था सुधार गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।


सहभागी महिलाहरूले एडभान्स खालको तालिमले धेरै उपलब्धि हासिल गर्न मद्दत पुर्याएको र यसले उनीहरूको जीविकोपार्जनमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे। उनले यस तालिमले गरिबी न्यूनीकरणमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरे।
उद्योग विकास शाखाका प्रमुख नरेश जेठाराले प्रविधिको विकाससँगै सिपमा पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै एडभान्स कोर्सको तालिम दिनु अत्यावश्यक भएको बताए। यस अघि, सोही कार्यक्रम अन्तर्गत महिलाहरूलाई ३ महिने आधारभूत सिलाइ कटाइ तालिम पनि प्रदान गरिएको थियो।































