
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सैनिकलाई जीवनदान दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष आग्रह गरेका छन्। ट्रम्पले पुटिनसँग भएको टेलिफोन वार्तामा यस्तो आग्रह गरेका थिए। उनले यसबारे आफैले जानकारी दिएका छन्।

ट्रम्पले रुस र युक्रेनबिचको युद्ध अन्त्य हुने सम्भावना निकै सकारात्मक अवस्थामा पुगेको बताएका छन्। उनले पुटिनलाई रुसी सेनाद्वारा घेराबन्दीमा परेका युक्रेनी सैनिकको जीवनदानका लागि आफूले आग्रह गरेको पनि जनाएका छन्।

यसअघि रुसी राष्ट्रपति पुटिनले युद्धविरामका लागि आफू सकारात्मक रहेको तर आफ्नो चिन्ताको समाधान हुनुपर्नेमा जोड दिएका थिए। उनले भनेका थिए, ‘युक्रेनसँग युद्धविरामका लागि अमेरिकी प्रस्तावमा हामी सहमत छौँ तर युद्धविरामबाट स्थायी शान्ति हुनुपर्दछ। यो संकटको जरोलाई हटाइनुपर्छ भन्ने हामी चाहन्छौँ।’

सामाजिक सञ्जाल ‘ट्रुथ’मा पोस्ट गर्दै ट्रम्पले पुटिनसँग भएको वार्ता निकै उत्साहप्रद रहेको जनाएका छन्।
































