
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको असरले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने लुम्बिनी प्रदेश लगायत अन्य पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना रहेको छ। अपराह्नतिर कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी चल्नसक्ने अनुमान गरिएको छ।

आज राति कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहनेछ। पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना रहेको छ। साथै कोशी तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्नसक्ने जनाइएको छ।

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।






























