
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले मंगलबार एक कार्यक्रम सहित मालिकार्जुन न्वालपानी सडक खण्ड उद्घाटन गरेका छन । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर- २ मा पर्ने न्वालपानी बस्ती मालिकार्जुन गाउँपालिकाकै सबै भन्दा दुर्गम ठाउँको बस्ती हो ।

पुर्व मन्त्री गणेश सिंह ठगुन्नाले संविधान सभाको सदस्य र प्रतिनिधी सभाको सदस्य भएको समयमा उक्त सडकको लागि डिपिआर तयार गराई उच्च प्राथमिकता साथ संसद विकास कोषको रकमबाट ट्रयाक खोल्न शुरू गरिएको उक्त सडक आर्थिक बर्ष ०७४/७५ देखि खन्न शुरू गरिएको थियो ।

मालिकार्जुन गाउँपालिकाको वडा न।३ लाई शुन्य बिन्दु मानेर सञ्चालनमा ल्याईएको सडक करिब ७ बर्ष पछि न्वालपानी बस्तीमा पुगेको हो ।
गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा मालिकार्जुन गाउँपालिकाले उक्त सडकलाई आफ्नो पालिकाको रणनीतिक सडकको रूपमा आफ्नै स्काईभेटर प्रयोग गरेर समेत ट्रयाक खोल्ने काम गरेको थियो ।
सत्तरी घरधुरी रहेको उक्त बस्ती सडक सञ्जालमा जोडिए संगै गाउँलेहरू उत्साहित भएका छन । नेता ठगुन्ना लाई गाउँबासीहरूले बाजागाजा सहित स्वागत गर्दै आफ्नो गाउँमा सडक पुर्याउन महत्वपूर्ण पहल गर्नु भएकोले उहाँलाई नै प्रमुख अतिथिको रूपमा बोलाएर उक्त सडकको उद्घाटन गरिएको वडा अध्यक्ष गणेश सिंह धामीले बताउनु भयो ।
सडक उद्घाटन कार्यक्रममा बोल्दै नेता ठगुन्नाले आफुले जनताको सेवा गर्न र सुखदुखमा सारथी बन्नका लागि राजनीतिमा लागेको र आफुले चुनाव हारे वा जिते पनि सधै भरी जिल्लाबासी जनताका आधारभूत आवश्यकता र विकास निर्माणका कामहरूको लागि पहल गर्न कहिल्यै नछोड्ने बताएका थिए ।

दमौरा क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने
गाउँकै पर्यटकिय सम्भावना रहेको क्षेत्र दमौरा सम्म अन्तिम ट्रयाक खोलिएको उक्त सडकले दमौराको पर्यटकिय प्रवद्धनमा समेत टेवा पुग्ने छ ।
दमौरा क्षेत्र मालिकार्जुन गाउँपालिकाकै उच्च भौगोलिक क्षेत्रमा रहेको घना जंगलका साथै रमणीय वातावरण भएको क्षेत्रका रूपमा चिनिन्छ। सडकको ट्रयाक खोलिए संगै दैनिक रूपमा उक्त ठाउँमा दुई पाङ्ग्रे सवारी साधनमा घुम्न आउने गरेको स्थानीय बासिन्दा तथा बसन्तपुर प्राथमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका रमेश सिंह धामीले बताउनु भयो ।
महाकाली राजमार्गको सदरमुकाम जोड्ने बैकल्पिक सडकको सम्भावना ः
मालिकार्जुन न्वालपानी सडक खण्ड लाई मालिकार्जुन मन्दिर देखि महाकाली नगरपालिकाको धाप सम्मको क्षेत्रका लागि महाकाली राजमार्गको बैकल्पिक सडकको रूपमा समेत विकास गर्न सकिने सम्भावित सडकको रूपमा हेरिएको छ ।
महाकाली राजमार्गको पनेवाज,पस्ती,थकतोली ,मेल्खेत,भर्तोला,दत्तु,सकार,काकडा,असिगाडा हुँदै धाप सम्म पुग्ने उक्त सडकखण्ड सदरमुकाम जोड्ने बैकल्पिक सडकका रूपमा सिधै मालिकार्जुन न्वालपानी दोपाखे धौकोट हुँदै धाप जोड्न सकिने सम्भावना रहेको वडाध्यक्ष गणेश सिंह धामीले बताएका छन ।


































