
कैलालीको गोदावरी नगरपालिका–२ मा अवस्थित तेघरी सामुदायिक वनलाई आगलागी नियन्त्रणका लागि आवश्यक उपकरणहरू नेपाल रेडक्रस सोसाइटी, कैलाली शाखाले हस्तान्तरण गरेको छ।

करीब एक लाख रुपैयाँ बराबरको अग्निनियन्त्रण सामग्रीहरू सामुदायिक वनका अध्यक्ष कृष्णा महरालाई एक विशेष कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो। कार्यक्रम गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, नगर प्रवक्ता गोपालदत्त भट्ट, वडा नं. २ का अध्यक्ष यज्ञबहादुर महरा, नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति लोकराज जोशी र रेडक्रस अत्तरियाका अध्यक्ष लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।



कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टले वन संरक्षणमा रेडक्रसले देखाएको सक्रियताको प्रशंसा गर्दै अग्निनियन्त्रण सामग्रीको सही सदुपयोग गरिनुपर्ने कुरामा जोड दिए। साथै, उनले आगलागी रोकथामका लागि स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको पनि उल्लेख गरे।

नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले भने समुदाय स्तरमै विपद् व्यवस्थापन क्षमताको विकास गर्नु आफ्नो प्राथमिकता रहेको बताए।































