
धनगढी: धनगढी उपमहानगरपालिका–४ उत्तरबेहेडीमा अवस्थित गुरुकुल एकेडेमीले नयाँ शैक्षिक सत्र २०८२ को अवसर पारेर बिहीबार ‘अष्टकुण्डिय विद्या शुभारम्भ हवन’ कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय परिसरमै निर्माण गरिएका आठवटा हवन कुण्डमार्फत वैदिक विधिअनुसार शुभारम्भ गरिएको उक्त कार्यक्रममा यजमान र पुरोहित छुट्टाछुट्टै व्यवस्था गरिएको थियो। कक्षा अनुसार समूहमा विभाजन गरिएका विद्यार्थीहरूलाई पनि कर्ताको रूपमा सहभागी गराइएको थियो।

हवनमार्फत विद्यार्थीहरूलाई वैदिक संस्कृति, संस्कार र जीवनशैलीबारे जानकारी प्रदान गरिएको थियो। प्रत्येक हवन कुण्डमा ३० जना विद्यार्थीलाई सहभागी गराई, पुरोहित तथा गुरुहरूले संस्कृत श्लोक, स्वस्तिवाचन तथा व्यवहारिक जीवनसँग जोडिएका विषयमा ४० मिनेटको शैक्षिक सत्र सञ्चालन गरेका थिए।

विद्यालयकी प्रधानाध्यापक सुनिता स्वाँर सुरीका अनुसार, विद्यार्थीहरूमा वैदिक संस्कार, परम्परा र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। “शिक्षकका रूपमा हामीले सिकेको कुरा भावी पुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो।
कार्यक्रममार्फत बालबालिकामा आउने नकारात्मक भावना र विकारलाई आहुति दिई सकारात्मक सोचको विकास गर्न सकिने विश्वास समेत विद्यालय पक्षले व्यक्त गरेको छ।
विद्यालयका व्यवस्थापक दीपक सुरीले दिगो सिकाइका लागि वैदिक शिक्षा आवश्यक रहेको उल्लेख गर्दै, “ज्ञानको आरम्भ शून्य विन्दुबाट गर्दा मात्र त्यसको प्रभाव दिगो हुन्छ,” भन्नुभयो।































