
बझाङः बित्थडचिर गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । शुक्रवार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता; पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारा सहित पालिकालाइ पूर्ण खोप घोषणा गरिएको हो ।

पालिका भित्रका जन्मेदेखि १६ महिना भित्रका ३ सय ७ जनाले खोप लगाइ रहेको र १६ महिनादेखि ५९ महिनाभित्रका ९ सय ९७ जना बालबालिकाले खोप पाए पछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको बित्थडचिर गाउँपालिका स्वास्थ्य शाखाका संयोजक गौरीलाल बोहराले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहराले कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय बझाङका खोप अधिकृत भानुभक्त जोशीले खोपको पहुँच वृद्धि र नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन यो घोषणा अपरिहार्य भएको बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख गौरिलाल बोहराले कार्यपत्र प्रस्तुत गदै अभियानमा सक्रिय योगदान गर्ने स्वास्थ्यकर्मी, स्वयंसेविका र स्थानीय निकायलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै स्वास्थ्य सेवामा योगदान गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो, भने विगत लामो समयदेखि सेवा दिँदै आइरहेकी स्वास्थ्य स्वयंसेविका नारुली स्याडालाई सम्मानसाथ बिदाइ गरिएको छ । उनलाई ५० हजार रुपैयाँ नगद, ब्लाङ्केट, सम्मानपत्र र दोसल्ला प्रदान गरिएको हो ।
कार्यक्रम समापन गदै गाउँपालिका अध्यक्ष अमरसिंह महरले सम्पूर्ण टोलटोलमा जनचेतना फैलाएर खोप अभियानलाई सफल बनाउने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने बित्थडचिर गाउँपालिका जिल्लाको दोस्रो पालिका बनेको छ ।

































