
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। संविधानको धारा ९५ अनुसार, राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे हुने उक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

सङ्घीय संसद् सचिवालयले संयुक्त बैठकको संभावित कार्यसूची तय गरिसकेको छ। सभामुख देवराज घिमिरेले सबै प्रतिनिधिसभा सदस्यहरूलाई २:४५ भित्र निर्धारित पोशाकमा उपस्थित भइ आशनग्रहण गरिसक्न आग्रह गरिसकेका छन्।
यसअघि नै सत्ता गठबन्धनका दलहरूबीच छलफल भई आर्थिक क्षेत्रलाई थप गतिशील बनाउने विषयमा केन्द्रित नीति तथा कार्यक्रम ल्याउने सहमति भएको थियो। कार्यक्रमले युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप र व्यावसायिक योजना प्रवर्द्धन गर्ने, साथै सरकारी खर्च र सुशासनमा जोड दिने विश्वास गरिएको छ।


सङ्घीय संसद् सचिवालयले वैशाख २२ देखि २८ गतेभित्र नीति तथा कार्यक्रममाथि छलफल र पारित गर्ने कार्यतालिका तय गरिसकेको छ। त्यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफल प्रारम्भ हुनेछ, जसलाई प्रि–बजेट छलफलको रूपमा लिइएको छ।
नेपालको संविधान अनुसार, जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अर्थमन्त्रीद्वारा संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिनेछ।
































