
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टमाथि पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही सिफारिस गरिएको छ। प्रदेशका ९ जिल्लाका सभापतिहरूले विष्टविरुद्ध ११ बुँदे आरोप लगाउँदै पार्टी प्रदेश इन्चार्ज तथा सांसद हरि ढकाललाई कारबाहीका लागि निवेदन दिएका हुन्।

विष्टमाथि विधानविपरीत पदाधिकारी मनोनीत गर्ने, फरक मत राख्नेहरूलाई पदबाट हटाउने, गुटबन्दी गर्ने, नक्कली कागजात तयार पार्ने, र नेतृत्वलाई धोका दिने जस्ता गम्भीर आरोपहरू लगाइएको छ। उनलाई पार्टीबाट निष्कासित पूर्वमहामन्त्री मुकुल ढकाल र तत्कालीन सहमहामन्त्री सुमना श्रेष्ठसँग मिलेर पार्टी चलाएको आरोप समेत लागेको छ।
स्रोतका अनुसार, विष्टले अध्यक्ष रवि लामिछाने निकटका नेताहरूलाई पेल्ने र केन्द्रीय नेतृत्वको निर्देशनको अटेरी गर्ने गरेकाले कारबाही सिफारिस गरिएको हो। काठमाडौं बसाइका क्रममा उनले ढकाल र श्रेष्ठसँग भेटघाट गरेको र सुमनालाई नेता मानेको आरोप पनि लगाइएको छ।


निवेदन तयार पार्ने नेतृत्व केन्द्रीय सदस्य विजय जैरुले लिएका हुन् भने अछाम र बझाङका सभापतिहरूलाई हस्ताक्षर गर्न दबाब दिइएको दाबी गरिएको छ। सुदूरपश्चिमबाट डडेलधुराका दीपक बोहरा, कञ्चनपुरका विजय जैरु र अछामकी प्रतिभा रावल रास्वपाको केन्द्रीय समिति सदस्य हुन्, जसलाई लामिछाने निकट मानिन्छ।
आफूमाथिको आरोपप्रति प्रतिक्रिया दिँदै विष्टले पार्टीभित्र ‘राम्रा होइन, हाम्रा मान्छे’ लाई प्राथमिकता दिने प्रवृत्तिको आलोचना गरे। उनले भने, “माथिको आड लिएर तलको राजनीति भइरहेको छ। कोशीका सभापति हटाइए, अब मेरो पालो होला। तर म चिन्तित छैन।”
उनले प्रदेश समितिका सबै निर्णय विधिअनुसार गरेको दाबी गर्दै आफूले पार्टीलाई पूर्ण समय दिएको, विदेशका अवसरहरू त्यागेको र भारतमा नेपालीहरूलाई पार्टीमा जोड्ने अभियानमा सक्रिय रहेको समेत उल्लेख गरे।






























