
मालिकार्जुन गाउँपालिका–४, गाेठ्युडीस्थित ऐतिहासिक तथा धार्मिक स्थल हुनैनाथ बाँजस्थान मन्दिर परिसरमा भण्डार घर निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ। मन्दिरको संरक्षण, व्यवस्थापन तथा आवश्यक भौतिक पूर्वाधार विकासको उद्देश्यले भण्डार घर निर्माण कार्य अघि बढाइएको हो।

हुनैनाथ बाँजस्थान मन्दिर विकास समाजको पहलमा निर्माण भइरहेको दुईतल्ले भण्डार घरका लागि सुदूरपश्चिम प्रदेश सरकारमार्फत रु. १५,००,००० को बजेट विनियोजन गरिएको छ। उक्त बजेटले भवनको प्रारम्भिक संरचना निर्माण कार्य भइरहेको भए पनि शौचालय, संरक्षण पर्खाल र अन्य आवश्यक भौतिक संरचनाका लागि थप बजेटको अभाव देखिएको छ।
यस सन्दर्भमा कैलाली बहुमुखी क्याम्पसका उप-प्रध्यापक तथा यस अभियानका मुख्य अभियन्ता श्री मान सिंह धामीले मन्दिर परिसरको सम्पूर्ण संरक्षण कार्यलाई व्यवस्थित बनाउन अबको चरणमा थप सहयोग अत्यन्त आवश्यक रहेको जानकारी दिएका छन्।


धार्मिक तथा सांस्कृतिक महत्व बोकेको हुनैनाथ बाँजस्थान मन्दिरलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले हाल निर्माण कार्यमा जुटिएको समाजले स्वदेश तथा विदेशमा रहनु भएका श्रद्धालु, मनकारी दाताहरू र भक्तजनहरूलाई आर्थिक तथा भौतिक सहयोगका लागि हार्दिक अनुरोध गरेको छ।
धामीका अनुसार भक्तजनको सहयोग र समर्पणले मात्रै यो पवित्र स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यमा रूपान्तरण गर्न सकिनेछ। उनले सबैलाई आफ्नो क्षमता अनुसार योगदान गर्न आह्वान गर्दै मन्दिरको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।































