टिङ्कर सडकमा न्यून बजेट विनियोजन भएकोविरुद्ध कांग्रेसको प्रदर्शन

Image
Nisarga Hospital

दार्चुला : महाकाली कोरिडोर अन्तर्गत पर्ने दार्चुलाको ब्याँस गाउँपालिका–१ तुसारपानी–टिङ्कर सडकखण्ड थप निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगरेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलामा धर्ना दिएका छन् । यस विषयमा प्रमुख जिल्ला अधिकारी अनिल पौडेल मार्फत नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाएको छ ।

CP Hospital Dhangadhi

बिहिवार (आज) नेपाली कांग्रेस जिल्ला सभापति ललितसिंह बोहराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका नेता, कार्यकर्ताहरूले विरोध स्वरुप–कि त सरकार बजेट देऊ, कि त नक्सा फिर्ता लेऊ, चुच्चे नक्सा करायो, टिंकर सडकमा यथेष्ट बजेट व्यवस्था गर, नक्कली राष्ट्रवाद मुर्दावाद, दार्चुला जिल्लालाई पिछडिएको जिल्ला घोषणा गर, दार्चुलालाई हेर्ने सौतेलो व्यवहार बन्द गर, झुटा आश्वासन दिन पाइँदैन, दार्चुला जिल्लालाई अन्याय भयो, जस्ता नारा लगाएका थिए ।

देशकै गौरव र सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिको आधारका रूपमा रहेको दार्चुला–टिङ्कर सडक निर्माणमा सरकारले देखाएको उदासिनता र दार्चुलेली जनताको भावनामाथि खेलबाड गरेको विरोधमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै विरोध गरेको तथा ज्ञापन बुझाएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका सचिव पुलेन्द्रबहादुर कार्कीले बताए । राष्ट्रकै गौरवको रूपमा रहेको सडक निर्माणलाई प्राथमिकतामा राख्नुको साटो अगामी आर्थिक वर्ष २०८२-०८३ का लागि सरकारले नयाँ बजेटमा अहिलेसम्मकै न्यून छ करोड एकतिस लाख रूपियाँ मात्रै विनियोजन गरेकोमा नेपाली कांग्रेस दार्चुलाले आपत्ती जनाएको छ ।

nawajiwan
Attariya Hospital

महाकाली कोरिडोर अन्र्तगतको तुसारपानी–टिङ्कर सडकखण्डमा नेपाली सेनाले पेस गरेको वार्षिक कार्ययोजना अनुसारको पचास करोड रुपियाँ विनियोजन गर्ने निर्णय सरकारले यथासिघ्र गर्नुपर्ने कांग्रेस दार्चुलाले जोडदार माग गरेको छ । नेपालबाट बाटो नहुँदा आफ्नै घर जान ब्याँसी सौका समुदायका मानिसहरू भारतको अनुमति लिएर भरतको बाटो प्रयोग गर्न बाध्य छन् । जिल्ला सदरमुकाम खलङ्गादेखि टिङ्करसम्म सडक निर्माण गर्न नेपाल सरकारले २०६७ सालदेखि दार्चुला–टिङ्कर सडक आयोजना मार्फत सडक निर्माण सुरु गरेको थियो । सरकारले २०७४ सालदेखि यो सडकलाई महाकाली कोरिडोरमा गाभेको थियो ।

दार्चुला–टिङ्कर सडकखण्डको तुसारपानी देखी टिङ्करसम्मको ७९ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । बजेट अभावकै कारण नेपाली सेनाले आठ वर्षमा १३ मिलोमिटर मात्रै सडकको नयाँ ट्याक खोलेको छ । दार्चुला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका भारत र चीनसँग सीमाना जोडिएको त्रीदेशीय ट्रान्जिट पोइन्टको रूपमा रहेको छ ।

यो क्षेत्र सामरीक, व्यापारीक, पर्यटकीय हिसाबले अति महत्त्वपूर्ण छ । चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर जाने सबैभन्दा छोटो मार्गका रूपमा दार्चुला–टिङ्कर सडक पर्दछ । ज्ञापनको बोधार्थ अर्थ मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय र दार्चुलाका सङ्घीय प्रतिनिधीसभा सदस्य दिलेन्द्र प्रसाद वडूलाई पठाइएको छ ।

Advertize US