
सिरियाको राजधानी दमास्कसस्थित ग्रीक अर्थोडक्स चर्च अफ द प्रोफेट एलियास मा आइतबार साँझ आत्मघाती बम आक्रमण हुँदा कम्तीमा २२ जनाको ज्यान गएको छ भने ६३ जना घाइते भएका छन्। सिरियाको स्वास्थ्य मन्त्रालयले यो पुष्टि गरेको हो।

ड्वेइला क्षेत्रमा अवस्थित उक्त चर्चमा साँझको प्रार्थनाका क्रममा एक बन्दुकधारी आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदै आफैंले लगाएको विस्फोटक ज्याकेट विस्फोट गराएको सिरियाको गृह मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार आक्रमणकारी इस्लामिक स्टेट (आईएस) समूहसँग आबद्ध भएको आशंका गरिए पनि हालसम्म आईएसले आक्रमणको जिम्मेवारी लिएको छैन।




घटनास्थलका तस्वीर र भिडियोहरूमा चर्चको आन्तरिक संरचना ध्वस्त भएको, सिसाका टुक्रा चारैतिर छरिएको र भित्तामा रगतका छिटाहरू देखिएका छन्। प्रत्यक्षदर्शी लरेन्स माआमारीले बताएअनुसार आक्रमणकारीलाई रोक्ने प्रयास गर्दा विस्फोट गराइएको थियो।
सन् २०२४ डिसेम्बरमा बशर अल-असदको सरकार इस्लामवादी विद्रोहीहरूले सत्ताच्युत गरेपछि सुरु भएको शान्तिपछि दमास्कसमा भएको यो पहिलो ठूलो आत्मघाती आक्रमण हो, जसले फेरि सुरक्षा अवस्थाप्रति प्रश्न उठाएको छ।



































