
लोकप्रिय गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा अश्लील गालीगलौज तथा आपत्तिजनक टिप्पणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्युरोका अनुसार पक्राउ पर्ने व्यक्ति चितवनका ३३ वर्षीय गुन्जन राई हुन्। उनलाई ललितपुरको बाडेगाउँबाट नियन्त्रणमा लिइएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।
गायिका चौहानले हालै साइबर ब्युरोमा आफूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अशिष्ट टिप्पणी गर्नेहरूविरुद्ध उजुरी दर्ता गराएकी थिइन्। उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा राईको संलग्नता देखिएको र उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।




उपरीक्षक अवस्थीका अनुसार अदालतबाट म्याद थप गराई थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ।
गायिका चौहानले पछिल्लो समय यस्ता साइबर दुव्र्यवहारविरुद्ध सामाजिक सञ्जालमै स्पष्ट रुपमा आवाज उठाउँदै आएकी छन्। उनले फेसबुकमा यस्ता व्यक्तिहरूलाई सार्वजनिक गर्दै कानुनी प्रक्रिया अगाडि बढाइरहेकी छन्।



































