
आज श्रावण शुक्ल पञ्चमी, हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक नाग पञ्चमी पर्व मनाइरहेका छन्। परम्पराअनुसार आज बिहानै स्नान गरी घरको मूलढोकामा गोबरले बनाइएको नागको आकृति टाँसी पूजा गर्ने चलन छ। नाग देवताप्रति श्रद्धा व्यक्त गर्दै दुबो, अक्षता, सिन्दूर, चन्दन, दही, खीर, रोटी लगायत सामग्री चढाइन्छ।

धार्मिक विश्वास अनुसार नाग पञ्चमीको दिन पूजा गरेमा वर्षभर सर्प, बिच्छी, चट्याङ र अन्य प्राकृतिक आपदाबाट बच्न सकिन्छ। साथै, भूमि निर्माण गर्दा नागदेवताको बास भएमा विधिपूर्वक पूजा गर्नुपर्ने मान्यता पनि छ।
आजको दिन नागका आठ स्वरूपहरू—अनन्त, वासुकि, तक्षक, पद्म, महापद्म, शंख, कुलिर, कर्कट आदिको पूजा गरिन्छ। “नागपूजायां गृहारम्भे च नागशिरोज्ञानम्” भनिने शास्त्रीय मान्यताअनुसार साउनमा नागको शिर उत्तर दिशामा हुने भएकाले आज उत्तरतर्फ फर्किएर पूजा गर्नुपर्छ।


शास्त्रीय गणनाअनुसार आज बिहान ८:४८ देखि १०:२९ सम्म लाभ र १०:३० देखि १२:०९ सम्म अमृत बेला रहेको छ, जसलाई नाग पूजा तथा तस्बिर टाँस्न उपयुक्त समय मानिन्छ।
यस दिन काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीसहित देशभरका नागस्थान, पोखरी र कुण्डमा विशेष पूजा हुने गर्दछ। नागले विष शोषण गरेर वातावरण शुद्ध बनाउने धार्मिक विश्वासका आधारमा ऋषिमुनिले नाग पूजाको परम्परा सुरु गरेको मानिन्छ।





























