दार्चुलामा पहिरोले घर भत्किँदा दर्जनौँ परिवार विस्थापित, ग्रामिण सडक अवरुद्ध

Image
Nisarga Hospital

दार्चुला: लगातारको वर्षापछि दार्चुलाका विभिन्न स्थानमा खसेको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन्। आइतबार राति व्यास गाउँपालिका–२ राप्लामा खसेको पहिरोले गोतपानीका कालु राम कामी र मानमती कामीको घर उच्च जोखिममा परेको छ। घर मुनीबाट पहिरो खसेपछि भित्ताहरू चर्किएपछि उनीहरूलाई स्थानीय, सुरक्षाकर्मी र जनप्रतिनिधिको सहयोगमा मिलन केन्द्रमा स्थानान्तरण गरिएको व्यास गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुँवरले जानकारी दिए।

CP Hospital Dhangadhi

जिल्लामा पहिरोका कारण पाँच परिवार विस्थापित भएका छन्। गत बिहीबार शैल्यशिखर नगरपालिका–८ सिमखेत मट्यौलाका तोयराज जोशीको हालै मात्र निर्माण गरिएको दुई तले पक्की घर भत्किएको छ। ‘ऋण लिएर बनाएको नयाँ घर भत्किएपछि अहिले छिमेकीको घरमा बस्दैछौं,’ जोशीले दुखेसो पोखे।

यस्तै, लेकम गाउँपालिका–५ मैखोली बोयाका नवराज जोशीको घरमाथिबाट पहिरो खस्दा उनी परिवारसहित छिमेकी देवीदत्त जोशीको घरमा बसेका छन्। त्यस्तै, मालिकार्जुन गाउँपालिका–७ पन्तपाली खोज्यागैरका गंगासिंह धामीको तीन तले ढुंगाको घरसमेत भत्किएको छ। विस्थापित परिवारले तत्काल राहत र पुनर्निर्माणको व्यवस्था गर्न माग गरेका छन्।

nawajiwan
Attariya Hospital

निरन्तर वर्षाका कारण दार्चुलाका धेरै ग्रामिण सडक अबरुद्ध भएका छन्। आइतबार रातिदेखि बन्द भएको महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्ड सोमबार सफा गरी सञ्चालनमा आएको भए पनि पुनः पहिरो खस्ने जोखिम कायमै रहेको मालिकार्जुन प्रहरी चौकी इन्चार्ज नरेन्द्र सिंह धामीले जानकारी दिए।

यसअघि व्यास गाउँपालिका–१ मा तिंकर खोलामा आएको बाढीले छाङरु–टिंकर जोड्ने काठे पुल र ३–४ सय मिटर सडक बगाएको थियो। सडक र पुल बगाउँदा टिंकर गाउँसँगको सम्पर्क विच्छेद भएको स्थानीयले बताए।

हाल दार्चुलाका नौ स्थानीय तहका दर्जनौँ गाउँ बाढी र पहिरोको उच्च जोखिममा रहेका छन्।