
नेपाली हिन्दु महिलाहरूले मनाउने तीज पर्वको शुरुवात आज सोमबार दर खाने दिनबाट भएको छ। यस दिन महिलाहरूले विशेष परिकारसहित दर खाँदै भोलिपल्ट बस्ने हरितालिका तीज व्रतको तयारी गर्छन्। विवाहित महिलाले पतिको दीर्घायु र परिवारको सुख-समृद्धिको कामना गर्दै, अविवाहित महिलाले सुयोग्य पति प्राप्तिको इच्छासहित निराहार व्रत बस्ने परम्परा रहेको छ।

दर खाने दिनमा महिलाहरूले पौष्टिक र स्वादिष्ट परिकार सेवन गर्छन्। खासगरी दूध, दही, घिउ, खिर, गुँदपाक, हलुवा, ढकनी, मिठाइ तथा सेलरोटी खाने चलन छ। माछा-मासु भने दरमा प्रयोग हुँदैन। स्थानअनुसार परिकार र दर खाने समय फरक हुने गरेको पाइन्छ। कतिपय ठाउँमा मध्यरातमा दर खाने चलन छ भने कतै साँझमा मात्र दर खाने प्रथा कायम छ।

यद्यपि परम्परागत रूपमा दर खाने चलन एक दिनमा सीमित भए पनि आजभोलि विशेषगरी शहरमा एक महिना अघिदेखि नै दर खाने कार्यक्रम गर्न थालिएको छ।

धार्मिक विश्वासअनुसार देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउन व्रत बसेकी थिइन् र उनको इच्छा पूरा भएको थियो। सोही परम्पराको निरन्तरता स्वरूप तीजमा महिलाहरूले निराहार व्रत बस्ने गरेका हुन्। यही कारण तीजलाई भक्तिपूर्ण र उल्लासमय पर्वका रूपमा मनाइन्छ।






























