
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको छ। महासंघका महासचिव भरत नेपालले सोमबार जारी विज्ञप्तिमा भनेका छन्, “बिना पूर्वाधार विदेशी प्रविधि भित्र्याउँदा नागरिक र यातायात व्यवसायीमाथि अनावश्यक आर्थिक भार पर्नेछ।”

महासंघले सरकार र सम्बन्धित पक्षबीच छलफल गरी अव्यवहारिक विषयहरू संशोधन नगरी सबै सार्वजनिक, पर्यटन, ढुवानी तथा निजी यातायात क्षेत्रमा इम्बोस्ड नम्बर प्लेट लागू नगर्न अनुरोध गरेको छ। साथै, यसले नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीको नियन्त्रणमा पर्न सक्ने भएकाले राष्ट्रको सुरक्षामा खतरा उत्पन्न हुने महासंघको चेतावनी छ।

अर्कातर्फ, जबरजस्ती इम्बोस्ड नम्बर प्लेट लागू गर्न खोजिएमा आन्दोलनको तयारी रहेको महासंघले जनाएको छ। भदौ ३ गते यातायात व्यवस्था विभागले सूचना जारी गर्दै असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने बताएको थियो।





























