
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य अधिकांश स्थानमा मौसम सफा रहनेछ। साथै, कोशी र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका अधिकांश भागमा मौसम सफै रहनेछ भने पहाडी भूभागमा आंशिक बदलीको अवस्था देखिने अनुमान गरिएको छ। आज सूर्योदय बिहान ६ बजेर २० मिनेटमा भएको र सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुने महाशाखाले जानकारी दिएको छ।

































