
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कैलालीमा उम्मेदवार आकाङ्क्षीको संख्या उल्लेख्य देखिएको छ। पार्टीले उम्मेदवार टुङ्गो लगाउने प्रक्रियाअन्तर्गत आकाङ्क्षीको नाम माग गरेपछि पाँच वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ ३० जनाको नाम जिल्ला कार्य समितिमा पुगेको हो। क्षेत्रीय कमिटीहरूले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यका आकाङ्क्षीको नाम जिल्ला कमिटीमा सिफारिस गरिसकेका छन्।

जिल्ला सचिव नृप सुनारका अनुसार जिल्ला कमिटीले नाम टुङ्गो लगाएर प्रदेश कमिटीमा सिफारिस गर्ने तयारी गरेको भए पनि केही आकाङ्क्षीका आवश्यक कागजात अपुग भएकाले प्रक्रिया ढिलाइ भएको छ। हाल अपुग कागजात माग गर्ने र सङ्कलन गर्ने कार्य भइरहेको उनले जानकारी दिए।
निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ डा. रणबहादुर चन्द, जनकराज चौधरी, बुद्धिसागर चौधरी र ईश्वरी न्यौपानेको नाम आएको छ। समानुपातिकतर्फ केशरीकुमारी रावल, उमाकुमारी बादी, धीरजराज रेग्मी, बिर्खबहादुर रावल, सुशीला स्वाँर र राजेशकुमार टमटाको नाम सिफारिस भएको छ। राष्ट्रिय सभाका लागि फकिरसिंह कठायत, नृपबहादुर खड्का र जगन्नाथ रिमाल रहेका छन्।


क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम परेको छ भने समानुपातिकतर्फ १० जना आकाङ्क्षी सिफारिस भएका छन्। क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ अविनाश चौधरी, खेमराज थारू, भीम बडुवाल र मङ्कर शाहको नाम आएको छ।
त्यसैगरी क्षेत्र नम्बर ४ बाट सात जना र क्षेत्र नम्बर ५ बाट चार जना प्रत्यक्षतर्फ आकाङ्क्षी रहेका छन्। समानुपातिक र राष्ट्रिय सभा सदस्यका लागि पनि प्रत्येक क्षेत्रबाट विभिन्न नामहरू सिफारिस भएका छन्।
कांग्रेस कैलालीमा उम्मेदवार छनोट प्रक्रिया प्रतिस्पर्धात्मक देखिएको छ। पार्टी नेतृत्वले समावेशीता, संगठनात्मक योगदान र जित्ने क्षमतालाई आधार बनाएर अन्तिम निर्णय लिने अपेक्षा गरिएको छ।
































