
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिहीबार फेरि आमनेसामने हुँदैछन्। आज हुने यो छलफललाई राजनीतिक वृत्तमा निर्णायक मानिएको छ। भेट ललितपुरको कुपण्डोलमा हुने बताइएको छ, जहाँ बालेनलाई भेट्न रवि जाने कार्यक्रम छ।

यसअघि बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्तावमा सहमति नजुटेपछि दुबैबीच दूरी बढेको चर्चा थियो। सोही कारण बालेनले आफ्नै पार्टी बनाएर चुनाव लड्ने तयारी थालेको दाबीसमेत गरिएको थियो। तर पछिल्लो समय बालेनले विभिन्न वैकल्पिक शक्ति एकत्रित गर्ने प्रयास तीव्र पारेपछि रवि पुनः संवादका लागि अघि सरेको अनुमान छ।

सोमबार राति कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको निवासमा भएको छलफलमा सत्ता र नेतृत्वको दीर्घकालीन सहकार्यबारे प्रारम्भिक सहमति बनेको दाबी गरिएको छ। आजको भेटमा यही राजनीतिक समझदारीलाई स्पष्ट रूप दिने सम्भावना देखिएको छ।

































