
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले स्पष्ट रूपमा आफू उम्मेदवार नबन्ने निर्णय सुनाएका हुन्।

पार्टीले उनलाई झापा–१ बाट सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। तर, सिफारिसप्रति आभार व्यक्त गर्दै शर्माले निर्वाचनमा नउठ्ने अडान दोहोर्याए। उनले यस निर्णयबारे यसअघि नै सार्वजनिक रूपमै धारणा राखिसकेको बैठकमा स्मरण गराए।
महामन्त्री शर्माले एक वर्षअघि २०८१ पुस २१ गते झापाको मेचिनगर–धुलाबारीस्थित अतिथि सदनमा आयोजित कार्यक्रममा आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक नेता–कार्यकर्तालाई गाउँमै गएर मेहनत गर्न आग्रह गरेको उल्लेख गरे। सोही कार्यक्रममा आफू २०८४ को निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट घोषणा गरेको उनको भनाइ छ।




‘त्यतिबेला नै म उम्मेदवार बन्न इच्छुक छैन भनेर भनेको थिएँ,’ शर्माले बैठकमा बताए, ‘तैपनि सर्वसम्मत सिफारिस गरेर विश्वास देखाउनुभएकोमा झापा–१ का सबै साथीहरूलाई धन्यवाद दिन्छु।’ उनको घोषणालाई पार्टीभित्र नेतृत्व विकास र पुस्तान्तरणको संकेतका रूपमा हेरिएको छ।



































