
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुसको अन्तिम साताबाट सुरु हुने भनिएको नियमित १५औँ महाधिवेशन स्थगित गर्ने निर्णय गरेका छन्। बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले वर्तमान परिस्थितिमा अबको प्रमुख विकल्प विशेष महाधिवेशन भएको स्पष्ट पारेका छन्।

विज्ञप्तिमा मंसिर १५ गते सम्पन्न बैठकले तय गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी यसै सूचनामार्फत स्थगित गरिएको उल्लेख छ। नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार आवश्यक तयारी र पूर्वकार्यहरू समयमै अघि बढ्न नसक्दा सम्पूर्ण कार्यतालिका प्रभावित भई निष्प्रभावी बनेको जनाइएको छ। यसले पार्टीभित्र अन्योल र अनिश्चितता सिर्जना भएकाले स्थिति स्पष्ट पार्न विज्ञप्ति जारी गरिएको महामन्त्रीद्वयको भनाइ छ।
उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी दर्ता गराएको विशेष महाधिवेशनको मागलाई स्मरण गराउँदै सुरुमा नियमित महाधिवेशनमार्फत समाधान खोजिएको बताए। तर निर्धारित समयमै नियमित महाधिवेशन सम्भव नदेखिएपछि पार्टी विधानको दफा १७(२) अनुसार विशेष महाधिवेशन नै अघि बढ्ने विकल्पका रूपमा आएको उल्लेख गरिएको छ। केन्द्रीय कार्यालयले आवश्यक प्रक्रिया सर्वसम्मतिका साथ अघि बढाउने प्रतिबद्धता पनि विज्ञप्तिमा व्यक्त गरिएको छ।








































