
बझाङमा फागुनको पहिलो सातादेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय बझाङका अनुसार नियमित राष्ट्रिय खोप तालिकाअन्तर्गत अभियान सञ्चालन गर्न तयारी पूरा गरिएको छ।

स्वास्थ्य कार्यालयले आयोजना गरेको एचपीभी खोप २०८२ कार्यान्वयनसम्बन्धी योजना तथा समीक्षा बैठकमा खोप कार्यक्रमबारे जानकारी दिइएको हो। निमित्त कार्यालय प्रमुख भानुभक्त जोशीका अनुसार निर्वाचन र चाडपर्वका कारण केही चुनौती भए पनि फागुनको पहिलो सातामै अभियान सम्पन्न गर्ने लक्ष्य लिइएको छ।


कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ की छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई लक्षित गरी खोप दिइनेछ। गत वर्ष कक्षा ६ देखि १० सम्मका किशोरीलाई दुई मात्राको खोप दिइएकामा यस वर्ष भने एक मात्रा मात्र लगाइने जनाइएको छ। कुनै भ्रममा नपरी ढुक्क भएर खोप लगाउन लक्षित वर्गलाई आग्रह गरिएको छ। खोप विद्यालय तथा तोकिएका खोप केन्द्रमार्फत सञ्चालन हुनेछ।
बैठक स्वास्थ्य कार्यालय प्रमुख जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो भने प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी, प्रहरी नायब उपरीक्षक खगेन्द्र धमला, १२ वटै स्थानीय तहका स्वास्थ्य शिक्षा शाखा प्रमुख, खोप फोकल पर्सनलगायतको सहभागिता रहेको थियो। वक्ताहरूले खोप प्रभावकारी भएकाले सबै लक्षित किशोरीलाई समेट्ने गरी अभियान सफल बनाउन आग्रह गरेका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा औसतमा दैनिक चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान छ। हाल सरकारले १४ रोगविरुद्ध ११ प्रकारका खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ।






























